काठमाडाैं- राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलकाे टी २० ब्याटिङ वरीयतामा सुधार भएकाे छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनी एक स्थान सुधार गर्दै ५९औं स्थानमा उक्लिएका छन्।
कुशलको ४ सय ४२ रेटिङ प्वाइन्ट छ।
गत वैशाखमा नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी २० आई सिरिजमा भुर्तेलले डेब्यू गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
कुशलले सिरिजको कुल ५ खेलमा ४ अर्धशतकसहित २ सय ७८ रन बनाएका थिए।
यता, वेस्ट इन्डिजका कप्तान काइरन पोलार्ड ६०औं स्थानमा छन्। भारतीय क्रिकेट टोलीका सूर्यकुमायर यादव ६६औं, ऋषभ पन्त ७२औं र अष्ट्रेलिया स्टिभ स्मिथ ७३ औं स्थानमा छन्।
नेपालकै पूर्वकप्तान पारस खड्का ९१औं स्थानमा पुगेका छन्। कप्तान ज्ञानेन्द्र मल्ल ९६औं स्थानमा पुगेका छन्।
ब्याटिङको शीर्षक्रममा इंग्ल्यान्डका डेविड मलान रहेका छन्। दाेस्राे स्थानमा पाकिस्तानका कप्तान बाबर आजम र तेस्राे स्थानमा अष्ट्रेलिया कप्तान अरोन फिन्च छन्।
बलिङतर्फ लेगस्पिनर सन्दीप लामिछाने ७८औं स्थानमा छन्।
वेस्ट इन्डिजका फबिएन एलेन १०औं स्थानामा उक्लिएका छन्। दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी,अफगानिस्तानका राशिद खान, आदिल राशिद र श्रीलंका वानिन्दु हसरंगा क्रमशः शीर्ष, दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।
अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन्।
नेपालको टी २० र एकदिवसीय वरीयता यथावत्
आईसीसीको टी २० र एकदिवसीय वरीयतामा नेपाल यथावत् रहेको छ। टी २० तर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ। यसअघि पनि नेपाल १३ औं स्थानमै रहेको थियो।
नेपालको टी २० मा उत्कृष्ट वरीयता ११ औं स्थान हो। नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन्।
चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ।
नेपाल एकदिवसीय वरीयताको १६औं स्थानमा यथावत् छ। न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा अष्ट्रेलिया दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेको छ।
भारत चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।