काठमाडौं– माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमबारदेखि बिजुली उत्पादन सुरु हुने भएको छ। कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट आजदेखि बिजुली उत्पादन सुरु हुन लागेको हो।
सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ।
आयोजनाले यसअघि नै गोगरदेखि खिम्तीसम्मको ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ। आयोजनाबाट उत्पादित बिजुली ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ।
प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो। आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो।
सुरुमा ३५ अर्ब लागत रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब रुपैयाँको हाराहारी पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।