काठमाडाैं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने दोस्रो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) को ड्राफ्टमा परेका छन्। श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने टी२० फ्रेन्चाइज लिगको ड्राफ्टमा गत वर्ष उनी परेपनि छनोट हुन सकेका थिएनन्।
बोर्डले यस सिजनका लागि ड्राफ्टमा परेका खेलाडीको नाम सार्वजनिक गर्दै सन्दीपको नाम पनि समावेश भएको जनाएको छ। सन्दीपसँगै भारतीय पूर्वअलराउन्डर युसुफ पठान र इरफान पठान दाजुभाइले पनि आफ्नो नाम दर्ता गराएका छन्।
यस्तै, वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पुरन, शेर्फान रदरफोर्ड, अमेरिका तीव्र गतिका बलर अली खान, बंगलादेशका तमिम इकवाल, अष्ट्रेलिया बेन कटिङ लगायतका खेलाडी ड्राफ्टमा छन्।
यता, बंगलादेशका अलराउन्डर सकिब अल हसन, दक्षिण अफ्रिका तबरेज शाम्सी, रासी भान र डर डुसेन, वेस्ट इन्डिजका शेल्डन कटरेललगायतका खेलाडी पनि ड्राफ्टमा छन्।
दोस्रो संस्करणको लंका प्रिमियर लिग आगमी जुलाई ३० देखि २२ अगष्ट सम्म श्रीलंकामा चल्ने छ।
डाफ्टको मिति भने बोर्डले सार्वजनिक गरेकाे छैन। कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स, क्यान्डी टस्कर्स र जाफना स्टेलियन्स गरि पाँच फ्रेन्चाइज टोली छन्। पहिलो संस्करणमा जाफानाले उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।