काठमाडाैं- ‘कोरोना बायो सिक्योर बबल’ उल्लंघन गर्दै खुलेआम घुमेको भन्दै श्रीलंका क्रिकेट बोर्डले उपकप्तान कुसल मेन्डिससहित प्रमुख तीन खेलाडीलाई निलम्बित गरेको छ।
इंग्ल्याण्डमा रहेका कुसल मेन्डिस, विकेटपिकर निरोशन डिक्वेला र ओपनर दनुष्का गुणाथिलकालाई सबै शैलीको क्रिकेटबाट निलम्बित गर्दै तत्काल श्रीलंका फर्किन आदेश दिएको हो।
बोर्डले पूरा जाँच नहुँनसम्म तीनै खेलाडीलाई निलम्बन गरेको जनाएको छ। आइतबार राती यी तीन खेलाडी खुलेआम घुमेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
भिडियोमा मेन्डिस र डिक्वेला देखिएपनि गुणाथिलका भने देखिएका थिएनन्। यी तीनै खेलाडी कुनैपनि जानकारी नदिइ होटल बाहिर निस्केको बोर्डले जनाएको छ।
तीन टी २० आई सिरिजमा श्रीलंका इंग्ल्याण्डसँग ३–० ले पराजित भएको थियो। मेन्डिसले तीन खेलमा ५४ रन बनाएका थिए।
गुणाथिलकाले तीन खेलमा २६ र डिक्वेलाले दुई खेलमा १४ रन बनाएका थिए। इंग्ल्याण्ड र श्रीलंकाबीच थप तीन ओडिआई खेलको सिरिज हुँदैछ। पहिलो खेल मंगलबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।