काठमाडाैं- भारतले टी २० विश्वकप आयोजकको जिम्मेवारीबाट हात झिकेको छ।
सोमबार भर्चुअल माध्यमबाट आयोजना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को बैठकले प्रतियोगिता भारतमा आयोजना गर्न नस्कने निर्णय गरेकाे हाे। बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले टी २० विश्वकप भारतमा आयोजना नहुने पुष्टि गरेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार यो प्रतियोगिता आयोजनाको जिम्मेवारी अब संयुक्त अरब एमिरेट्स (युएई)लाई दिन लागिएको हो।
टी २० विश्वकप अक्टुबर- नोभेम्बरमा आयोजना हुने छ। १७ अक्टुबरबाट शुरु हुने प्रतियोगिताको फाइनल खेल १४ नोभेम्बरमा हुनेछ।
यसैबीच, बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले एएनआईसँग प्रतियोगिता निर्धारित समयमै हुने बताए। यस निर्णय बारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई जानकारी गराउने उनले बताए।
‘दुईदेखि तीन महिना पछि के हुन्छ भन्नेमा कसैले पनि आत्मविश्वासका साथ केही भन्न सक्दैन। यस कुरालाई ध्यानमा राख्दै बीसीसीआईले प्रतियोगिता युएईका सार्न आईसीसीसँग आग्रह गर्नेछ। युएई भारतपछि उपयुक्त स्थान हो,’ उनले भने।
उनले यस प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) पछि आयोजना हुनेपनि स्पष्ट पारे। यो वर्ष आईपीएल कोरोना संक्रमणको कारण बिचैमा रोकिएको थियो। यद्यपि, राेकिएकाे खेल कहिले हुन्छ उनले खुलाउन चाहेनन्।
हाल टी २० विश्व च्याम्पियन वेस्ट इन्डिज टीम हो। २०१६ मा वेस्ट इन्डिजले भारतमा आयोजित प्रतियोगिताको फाइनलमा इंग्ल्याण्डलाई हराउँदै उपाधि जितेको थियो।
हालसम्म वेस्ट इन्डिज दुई पटक च्याम्पियन बनेको छ। वेस्ट इन्डिजबाहेक भारत, पाकिस्तान, इंगल्याण्ड र श्रीलंकाले पनि उपाधि जितिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।