फाइल तस्वीर काठमाडौं– असार १ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनामा पुर्याएको क्षतिको तत्काल मर्मत गर्न नसकिने भएको छ। मेलम्चीदेखि हेलम्बुसम्मको सडक र पुल बगाउँदा आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको हो। पहिले सडक सञ्चालन भएपछि मात्रै आवश्यक उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका लागि उपकरण पु¥याउन नसकिने अवस्था छ। ठाउँठाउँमा गरी आयोजना निर्माणस्थल प्रदेशमार्गमा पाँच–छ किमी सडक क्षतिग्रस्त भएको अनुमान गरिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।
बाढीकै कारण त्यस क्षेत्रमा पाँच पुल बगाएको छ । हेडवर्कमा भएको तीन र मेलम्ची नदीमा दुई पुल बाढीका कारण क्षतिग्रस्त बनेको हो। विभिन्न स्थानमा सडक पूरै भासिएको छ।
अम्बाथानस्थित ‘हेडवक्र्स’भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको हो। आयोजनाले सोही दिनदेखि नै सुरुङ बन्द गरी सुन्दरीजलबाट पानी खाली गर्न सुरु गरेको थियो। सुरुङ बन्द भएकाले त्यसमा बाढी पस्न नपाएको आयोजनाले जनाएको छ।
आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ। आयोजनाको क्याम्पहरू, उपकरणहरू, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ। आयोजनाले कतिपय संरचना बाढीका कारण पुरिएकाले स्थलगत रूपमा हेरेर मात्रै त्यसमा कति क्षति पुगेको छ भन्ने थाहा पाउन सकिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।