काठमाडाैं- इंग्ल्याण्डले श्रीलंकाविरुद्ध तीन टी २० आई सिरिजमा ‘क्लिनस्विप’ गरेको छ। तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ८९ रनको फराकिलो अन्तरले हराउँदै इग्ल्याण्डले ‘क्लिनस्विप’ गरेको हो।
जितको लागि १ सय ८१ रनको बलियो विजयी लक्ष्य पछ्याएको श्रीलंका १८.५ ओभरमा ९१ रनमा अल आउट भयो। श्रीलंका तल्लोक्रमका बिनुरा फ्रेन्नान्डोले सर्वाधिक २० रनको योगदान दिए। उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे।
अन्यलले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन्। ओशदा फ्रेनान्डोले १९ र विकेटकिपर निरोशन डिक्वेलाले ११ रन जोडे। इग्ल्याण्डका तीव्र गतिका बलर डेविड विल्लीले ३ विकेट लिए। उनले ४ ओभरमा २७ रन खर्चेका थिए।
यता, साम करनले २ विकेट लिए। क्रिस वोक्स, लियाम लिभिङस्टोन, मोईन अली र क्रिस जोर्डनले १–१ विकेट लिए।
त्यसअघि घरेलु मैदान दी रोज बाउल साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो।इग्ल्याण्डका ओपनर डेविड मलानले सर्वाधिक ७६ रनको योगदान दिए। उनले ४८ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए।
जोनी बेयरस्टोले ४३ बलमा ५ चौका र १ छक्कासहित ५१ रन जोडे। लियाम लिभिङस्टोन १४ रनमा क्याच आउट हुन पुगे। साम करण ९ र क्रिस जोर्डन ९ रनमा अविजित रहे। श्रीलंका तीव्र गतिका बलर दुश्मन्था चामिराले ४ विकेट लिए। उनले ४ ओभरमा १७ रन खर्चे।
बिनुरा फ्रेनान्डो र ईसुरु उडानाले १–१ विकेट लिए।
पहिलो खेलमा इग्ल्याण्ड ८ र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो। श्रीलंका र इग्ल्याण्डबीच थप तीन ओडिआई सिरिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।