काठमाडाैं- नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि स्थगित भएको छ। आईसीसी विश्वकप लिग-२ अन्तर्गत जुलाई तेस्रो साता स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएपछि बन्द प्रशिक्षण पनि चार दिनमै स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हाे।
नामिबिया कोरोना कारण प्रभावित भएपछि अभ्यास र यातायातमा कठिन हुँदा नेपाल, स्कटल्यान्ड र नामिबियाबीचकाे त्रिकोणात्मक सिरिज अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले स्थगित गरेकाे हाे।
अब यो सिरिज जुलाई २०२२ मा हुने आईसीसीले जनाएको छ। यस अगाडी स्कटल्यान्डमा हुनुपर्ने सिरिज कोरोना महामारीको कारण जुलाई २० देखि ३० सम्म स्पेनकाे डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा हुने बताइएको थियो। जसका लागि नेपालले गत शुक्रबार २० सदस्य टोली घोषणा गरेको थियो। गत मंगलबारबाट नेपालले बन्द प्रशिक्षणसमेत थालेकाे थियाे।
यद्यपि, खेलाडीहरुले प्रशिक्षक डेभ ह्वाटमोरसँग नियमित प्रशिक्षण भने गर्ने क्यानले जनाएको छ। कोरोना प्रोटकललाई ध्यानमा राख्दै सानो समूह बनाएर प्रशिक्षक ह्वाटमोरले प्रशिक्षण दिने छन्।
तर, खेलाडीहरुले आजै होटल छाड्ने छन्। काेराेना माहामारीकाे कारण विश्वकप लिग २ अन्तर्गतकाे त्रिकोणात्मक सिरिज १८ महिनापछि हुन लागेको थियाे। नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग २ मा डेब्यू गरेको थियो।
पछिल्लो पटक २०२० फेब्रुअरीमा विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज टियूमा सम्पन्न भएको थियो।
सन् २०२३ मा भारतमा हुने ओडिआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग २ मा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। एकदिवसीय त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरीसम्म चल्ने तालिका छ। सबै टोलीले होम र अबे त्रिकोणात्मक सिरिज खेल्ने छन्। हरेक टिमले ९ सिरिज खेल्न पाउनेछ। अर्थात ९ टोलीले ३६ खेल खेल्नेछन्।
शीर्ष तीन टोली २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको लागि ग्लोबल छनोटमा स्थान बनाउने छन्। पुछारका चार टोलीले क्वालिफायर खेल्नेछन्।क्वालिफायरमा शीर्ष दुईमा पर्न सके ग्लोबल छनोट खेल्ने अवसर पाउने छन्।
२०१९ देखि सुरू भएको सिरिजमा नेपालले भने अहिलेसम्म जम्मा एक सिरिज खेलेको छ। २०१९ फेब्रुअरीमा घरेलु मैदानमा नेपालले ओमान र अमेरिका सम्मिलित सिरिज खेलेको थियो। जसमा ओमानसँग दुई खेलमा पराजित हुँदा अमेरिकालाई दुवै खेलमा हराएको थियो। नेपाल ४ खेलमा ४ अंकसहित छैटौं स्थानमा छ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ। स्कटल्याण्ड ८ खेलबाट ९ अंकसहित तेस्रो र नामिबिया ७ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।