काठमाडाैं- पहिलो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको न्युजिल्याण्ड टोलीलाई भारतका पूर्वब्याट्सम्यान सचिन तेन्दुलकरले बधाइ दिएका छन्।
बुधबार फाइनलमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले उपाधि आफ्नो पोल्टामा पारेको हो। अन्तिम दिन भारतले दिएको १३९ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेटको क्षतिमा पुरा गरेको थियो।
पहिलो र चौथो दिन वर्षाको कारण एक बल पनि हुन नसक्दा बराबरीतर्फ अघि बढेको खेलमा न्युजिल्याण्डले अन्तिम तथा छैटौं दिन (रिजर्भ डे) ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको थियो।
खेलमा पराजित भएपछि सचिनले ट्वीट गर्दै भारतीय टिमको प्रदर्शन निश्चित रूपमा निराशाजनक रहेको बताए। ‘मैले पहिले भनेझैं खेलको अन्तिम दिनमा पहिलो १० ओभर धेरै महत्वपूर्ण थियो। तर, ती ओभरमा विराट कोहली र चेतनेश्वर पुजारा दुवैको विकेट गयो। त्यसपछि समग्र टोलीलाई दबाब परेको थियो,’ उनले लेखेका छन्।
उनले योजनाविपरीत मैदान उत्रिएको कारण भारतले सम्झनलायक प्रदर्शन गर्न नसकेको पनि बताएका छन्।
‘खेलको अन्तिम दिनमा पहिलो १० ओभर धेरै महत्वपूर्ण हुनेछ र खेलको पहिलो सेसनले तय गर्छ खेल कुन अवस्थामा जान्छ। भारतीय टिमले आफ्नो दिनको योजना बनाउनु पर्थाे। न्युजिल्याण्डले शुरुआतबाट बिस्तारै प्रति ओभर २.३ रनको दरले खेल्यो। हामी दुबै पक्षबाट केही नयाँ तरिकाहरू हेर्न सक्छौं।’
सामाजिक सञ्जालमा भारतीय खेल प्रशंसकहरूले न्युजिल्याण्डको खेलको पनि प्रशंसा गरिरहेका छन्। उनीहरूले टेस्ट क्रिकेटमा न्युजिल्याण्डलाई विश्व च्याम्पियन कहलाउन योग रहेको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।