काठमाडाैं- पहिलो संस्करणकाे आईसीसी विश्व टेस्ट च्याम्पियनसिपकाे उपाधि न्युजिल्याण्डले जितेको छ। बुधबार फाइनलमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले उपाधि आफ्नाे पाेल्टामा पारेकाे हाे। अन्तिम दिन भारतले दिएको १३९ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेटको क्षतिमा पुरा गर्यो।
पहिलो र चौथो दिन वर्षाको कारण एक बल पनि हुन नसक्दा बराबरीतर्फ अघि बढेको खेलमा न्युजिल्याण्डले अन्तिम तथा छैटौं दिन (रिजर्भ डे) ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकाे थियाे।
न्युजिल्याण्डका रस टेलर १ सय बलमा ६ चौकासहित ४७ रनमा अविजित रहे। कप्तान केन विलियम्सनले ५२ रनमा अविजित इनिङ खेले। उनले अर्धशतक प्रहार गर्ने क्रममा ८९ बलमा ८ चौका प्रहार गरेका थिए। तेस्रो विकेटका लागि टेलर र विलियम्सनले ९६ रनको अविजित साझेदारी गरेका थिए।
ओपनर टम लाथम र डेभन कन्वेले ३३ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए। लाथम ९ रनमा स्टम्पिङ आउट भएका थिए। अर्का ओपनर कन्वे १९ रनमा एलबिडब्लू आउट भए। कन्वेले ४७ बलमा ४ चौका प्रहार गरे।
भारतका स्पिनर रविचन्द्रन आश्विनले २ विकेट लिए।
त्यसअघि अन्तिम तथा छैटौं दिन भारत दोस्रो इनिङमा ७३ ओभरमा १ सय ७० रनमा अलआउट हुन पुग्यो। पहिलो इनिङमा ३२ रनले पछि परेको भारतले समग्रमा १ सय ३८ रनको अग्रता लिएको थियो।
भारतीय टिमका विकेटकिपर ऋषभ पन्तले सर्वाधिक ४१ रन बनाएका थिए। पन्तले ८८ बलमा ४ चौका प्रहार गरे। त्यसअघि पन्तले ब्यक्तिगत ५ रनमा ठूलो जीवनदान पाएका थिए। ४० औं ओभरको अन्तिम बलमा पन्तको सहज क्याच स्लिपमा टिम साउथीले छोड्न पुगेका थिए।
त्यस अगाडी भारतलाई ओपनर सुभमन गिल र रोहित शर्माले २४ रनको साझेदारी गरेका थिए। गिल ८ रनमा एलबिडब्लू आउट भए। रोहित ३० रनमा एलबिडब्लू आउट भए। उनले ८१ बलमा २ चौका प्रहार गरे।
यता, रविन्द्र जडेजा पनि १६, चेतेश्वर पुजारा र अजिक्या रहाणे १५, कप्तान विराट कोहली र मोहम्मद शामी १३ रनमा आउट भए। शामीबाहेक सबै खेलाडी क्याच आउट भएका हुन्।
न्युजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले १५ ओभरमा २ मेडनसहित ३९ रन खर्चेर ३ विकेट लिए। टिम साउथीले १९ ओभरमा ४ मेडन राख्दै ४८ रन खर्चेर ४ विकेट लिए। काइल जेमिसनले २ र निल वाग्ररले १ विकेट लिए।
दुई इनिङ्ग्समा गरी ७ विकेट लिएका न्युजिल्याण्डका जेमिसन प्लेयर अफ दि सिरिज भए। न्युजिल्याण्डले दोस्रो पटक आईसीसीको उपाधि जितेको हो।
यसअघि न्युजिल्याण्डले सन् २००० मा भारतलाई फाइनलमा ४ विकेटले हराउँदै आइसीसी नकआउट (च्याम्पियन्स ट्रफी) उपाधि जितेको थियो।
उपाधिसँगै च्याम्पियन न्युजिल्याण्डले १६ लाख डलर हात पारेकाे छ। यता, उपविजेता भारतले ८ लाख डलरमा चित्त बुझायाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।