फाइल तस्बिर
काठमाडाैं- स्कटल्यान्ड, नामिबिया र नेपालबीच हुने त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टिमले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण सुरु गरेको हो। एक साताअघि मात्र नेपाल फर्किएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाल क्रिकेट संघले छानेको खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका हुन।
स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली टोलीले अभ्यास सुरु गरेको हो। जुलाई अन्तिम सात हुने शृखंलमा सहभागी हुने खेलाडी र अफिसियलको सोमबार कोरोना परीक्षणको नतिजा 'नेगेटिभ' आएसँगै शृंखलाको तयारी सुरु भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिलो दिन यसअघि नेपाल क्रिकेट संघले छनोट गरेका २० खेलाडीमध्येबाट १९ खेलाडीले अभ्यसा गरे। पृथु बास्कोटा प्रशिक्षणमा सहभागी थिएनन्। बास्कोटा व्यक्तिगत कारण देखाएर बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएका थिए।
कोरोना महामारीपछि अन्तर्राष्ट्रिय भ्रमण गर्ने लक्ष्यमा रहेको टोलीलाई अहिले मौसम प्रतिकूल भएको छ। धेरै समयपछि एक दिवसीय खेल खेल्नका लागि फिल्डमा गर्ने काम मौसमका कारण समयमा नै हुन नसकेको कप्तान ज्ञानेन्द्र मल्लले बताए। बलिया राष्ट्रहरुसँग हुने प्रतिस्पर्धाका लागि मेहनत गर्नुपर्ने उनको भनाइ छ।
कप्तान मल्लले भनेजस्तै स्पेनमा हुने एक दिवसीय शृंखलाका लागि मौसम प्रतिकूल भएको भन्दा प्रशिक्षक ह्वाटमोरले मौसमअनुसारको तयारी गर्नुपर्ने औंल्याए। प्रशिक्षक ह्वाटमोरले पहिलोपटक टोली सम्हाल्दा ट्वान्टी-२० खेलमा नेपालले नेदरल्यान्ड्स र मलेसियासँगको शृंखलामा उपाधि हात पारेको थियो। स्पेनमा हुने शृंखला भिन्न संरचनाको हुने भएकोले फरक रणनीतिअनुसार अभ्यास गर्नुपर्ने बताए।
लिगअन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ। लिगमा नेपालले चार खेलमा चार अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ। लिग-२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज कोरोनाका कारण यसअघि नै स्थगित भएको थियो। पछिल्लो समय आईसीसीले परिमार्जन गरेको विश्वकप सहभागिता नयाँ ढाँचाअनुसार नेपालको बलियो सम्भावना रहेको भन्दै कप्तान मल्लले दीर्घकालीन योजना बनाएर कार्यान्वयन गरे नेपालको माथि उक्लने सम्भावना रहेको बताए।
स्कटल्यान्डमा तय भएको खेलहरु विशेष कारण स्पेनको डेजर्ट स्प्रिङ्स क्रिकेट मैदानमा हुँदै छ। आईसीसीले एक दिवसीय मान्यता दिएपछि यो मैदानमा पहिलोपटक सिरिज हुन लागेको हो। सन् २०२३ को विश्वकप छनोटका आधार रहेको लिग-२ प्रतियोगिताको शीर्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले ग्लोबल छनोट खेल्ने मौका पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।