काठमाडाैं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच हुने त्रिकोणात्मक सिरिजको मिति तय भएको छ। सिरिज जुलाई २० देखि ३० सम्म स्पेनको अल्मेरियामा रहेको डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा हुने भएकाे हाे।
कोरोना महामारीको कारण बेलायत सरकारले रोक लगाएपछि स्कटल्यान्डमा हुनुपर्ने उक्त सिरिज स्पेनमा हुन लागेको हो। सिरिजमा तीनै टिमले एकआपसमा दुई पटक खेल्नेछन्।
सिरिजका लागि नेपाली टिमले बुधबारदेखि प्रशिक्षण शुरु गर्दैछ। बन्द प्रशिक्षणमा पूर्व कप्तान पारस खड्कालाई पनि बाेलाइएकाे छ। उनले चाेटका कारण नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिज गुमाएका थिए।
यस्तै, साेही सिरिजमा डेब्यू गरेका कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीलाई पनि बन्द प्रशिक्षणमा बाेलाइएकाे छ।
नेपालले त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्याण्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो। उक्त त्रिकोणात्मक सिरिजमा कुशल, आशिफ, कमल र साहबले डेब्यू गर्दै उच्च प्रदर्शन गरेका थिए।
डेब्यू खेलको शुरुवाती तीनै खेलमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए। उक्त सिरिजमा कुशलले ५ खेलमा ४ अर्धशतक सहित कुल २ सय ७८ रन बनाएका थिए।
अर्का ओपनर तथा विकेटकिपर शेखले ५ खेलमा एक अर्धशतकसहित १ सय ५४ रन बनाएका थिए। अन्तिम दुई खेल खेलेका कमलले ५ र स्पिनर साहबले ३ खेलमा २ विकेट लिएका थिए।
काेराेना माहामारीकाे कारण विश्वकप लिग २ अन्तर्गतकाे त्रिकोणात्मक सिरिज १८ महिनापछि हुन लागेको हो। नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग २ मा डेब्यू गरेको थियो।
पछिल्लो पटक २०२० फेब्रुअरीमा विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज टियुमा सम्पन्न भएको थियो।
सन् २०२३ मा भारतमा हुने ओडिआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग २ मा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। एकदिवसिय त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरीसम्म चल्ने छ। सबै टोलीले होम र अबे त्रिकोणात्मक सिरिज खेल्ने छन्। हरेक टिमले ९ सिरिज खेल्न पाउनेछ। अर्थात ९ टोलीले ३६ खेल खेल्ने छन्।
शीर्ष तीन टोली २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा स्थान बनाउने छन्। पुछारका चार टोलीले क्वालिफायर खेल्नेछन्।क्वालिफायरमा शीर्ष दुईमा पर्नसके ग्लोबल छनोट खेल्ने अवसर पाउने छन्।
२०१९ देखि शुरु भएको सिरिजमा नेपालले भने अहिलेसम्म जम्मा एक सिरिज खेलेको छ। २०१९ फेब्रुअरीमा घरेलु मैदानमा नेपालले ओमान र अमेरिका सम्मिलित सिरिज खेलेको थियो। जसमा ओमानसँग दुई खेलमा पराजित हुँदा अमेरिकालाई दुवै खेलमा हराएको थियो। नेपाल ४ खेलमा ४ अंकसहित छैटौं स्थानमा छ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ। स्कटल्याण्ड ८ खेलबाट ९ अंकसहित तेस्रो र नामिबिया ७ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ।
बन्द प्रशिक्षणको लागि नेपालको टोली :
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र पृथु बास्कोटा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।