काठमाडाैं- नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन खुला प्रतिस्पर्धामा पाँच सयभन्दा बढी सहभागिता जनाएका छन्।
गत वैशाखमा नेदरल्याण्ड्स र मलेसियासँग टी२० त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले प्रयोग गरेको जर्सी चौतर्फी अलोचना भएपछि नेपाल क्रिकेट संघ (क्यान) र टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले जर्सीको डिजाइन प्रतिस्पर्धा खुला गरेकाे थियाे।
गत सोमबारदेखि खुला गरिएकाे प्रतिस्पर्धामा पाँच सयभन्दा बढीले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्दै पठाएकाे क्यानले जनाएकाे छ। उत्कृष्ट डिजाइन बनाउनेले नगद एक लाख रुपैयाँ पाउने छन्।
जर्सी डिजाइन छनाेटका लागि क्यानले सर्ट लिष्टको लागि चार सदस्य छनोट समित बनाएको छ। छनोट समितिमा नेपाल क्रिकेट संघ म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल, क्यानका केन्द्रिय सदस्य छुम्बी लामा र एक प्रायोजक प्रतिनिधि रहने छन्।
छनोट समितिले सर्टलिष्ट क्यानलाई पठाउने छ। क्यानको बोर्ड बैठकले उत्कृष्ट जर्सी छनोट गर्नेछ।
डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने हुन्छ। कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने जनाइएकाे छ।
डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्नुपर्ने हुन्छ।
नेपालले जुलाईमा विश्वकप लिग २ अन्तर्गतको स्पेनमा स्कटल्याण्ड र नामिबियासँग प्रतिस्पर्धा गर्दै छ। जुन सिरिजमा नेपालले नयाँ जर्सी प्रयोग गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।