काठमाडाैं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबारदेखि प्रशिक्षण शुरु गर्ने भएकाे छ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि कीर्तिपुरस्थित टियु मैदानमा प्रशिक्षण शुरु गर्न लागेकाे हाे।
चार दिनको क्वारेन्टिइमा बसेका टोलीका मुख्य प्रशिक्षक डेभ वाट्माेरको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएसँगै बन्द प्रशिक्षण शुरु गर्न लागिएकाे हाे।
वाट्माेर श्रीलंकाबाट सोमबार नेपाल आएका थिए। कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि वाट्माेर वैशाख तेस्रो साता श्रीलंका फर्किएका थिए।
नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासका अनुसार शनिबार बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीको पीसीआर परीक्षण गरिनेछ। क्यानले शुक्रबार बन्द प्रशिक्षणको लागि २० सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ।
बन्द प्रशिक्षणमा पूर्व कप्तान पारस खड्कालाई पनि बाेलाइएकाे छ। उनले चाेटका कारण नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिज गुमाएका थिए।
यस्तै, साेही सिरिजमा डेब्यू गरेका कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीलाई पनि बन्द प्रशिक्षणमा बाेलाइएकाे छ।
नेपालले त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्याण्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो। उक्त त्रिकोणात्मक सिरिजमा कुशल, आशिफ, कमल र साहबले डेब्यू गर्दै उच्च प्रदर्शन गरेका थिए।
डेब्यू खेलको शुरुवाती तीनै खेलमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए। उक्त सिरिजमा कुशलले ५ खेलमा ४ अर्धशतक सहित कुल २ सय ७८ रन बनाएका थिए।
अर्का ओपनर तथा विकेटकिपर शेखले ५ खेलमा एक अर्धशतकसहित १ सय ५४ रन बनाएका थिए। अन्तिम दुई खेल खेलेका कमलले ५ र स्पिनर साहबले ३ खेलमा २ विकेट लिएका थिए।
नेपालको टोली :
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र पृथु बास्कोटा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।