काठमाडाैं- न्युजिल्याण्ड र भारतबीच हुन लागेकाे विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल वर्षाका कारण राेकिएकाे छ।
खेल नेपाली समय अनुसार इंग्ल्याण्डकाे साउथह्याम्पटनस्थित ‘दि रोज बल’मा ३:१५ बजे शुरु हुने भएपनि लगातार वर्षा भइरहेकाे कारण अहिलेसम्म टस पनि हुन सकेको छैन।
पानी मैदानमा जमेको कारण खेल तत्काल शुरु हुने सम्भावना न्यून रहेको छ। पहिलोपटक भएको टेष्ट च्याम्पियनसिपमा आईसीसीका नौ उत्कृष्ट राष्ट्रले दुई वर्षसम्म प्रतिस्पर्धा गरेका थिए। यी मध्ये भारत शीर्ष र न्युजिल्याण्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन्।
न्युजिल्याण्ड र भारतले दुई दशकपछि आईसीसीको प्रमुख प्रतियोगिता फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। विश्व टेष्ट वरियतामा न्युजिल्याण्ड शीर्ष र भारत दोस्रो स्थानमा छन्।
प्रतियोगिताको उपाधिको लागि भारतको कप्तानी विराट कोहलीले तथा न्युजिल्याण्डकाे कप्तानी केन विलियमसनले गर्दैछन्।
भारतले न्युजिल्याण्डसँग सन् २०१६ देखि अहिलेसम्म पाँच खेल खेलेकाे छ। जसमध्ये भारतले तीन तथा न्युजिल्याण्डले दुई खेलमा जित हात पारेका थिए। पछिल्लो दुई खेलमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।