काठमाडाैं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाट्मोर नेपाल आइपुगेका छन्। अघिल्लो महिना श्रीलंका फर्किएका वाट्माेर आइसीसी विश्वकप लिग–२ अन्तर्गत खेल जुलाई तेस्रो साताबाट स्पेन हुने पक्का भएपछि सोमबार नेपाल फर्किएका हुन्।
नेपाल फर्किएसँगै वाट्माेर चार दिनसम्म क्वारेन्टिनमा बस्ने छन्। त्यसपछि उनकाे पीसीआर परीक्षण हुनेछ। तर, प्रशिक्षण भने सरकारले स्वीकृति दिएपछि मात्रै थाल्ने नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले जानकारी दिए।
बन्द प्रशिक्षणको मिति तय भएसँगै खेलाडीको नाम पनि सार्वजनिक हुने उनकाे भनाइ छ। यद्यपि, छनोट समितिले क्यानलाई खेलाडीको नाम पठाइसकेको छ। बन्द प्रशिक्षणमा २२ खेलाडी बोलाउने तयारी गरिएकाे छ। दुई दिनभित्रमा नाम सार्वजनिक हुन सक्ने उनकाे भनाइ छ।
आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल जुलाई तेस्रो साता स्पेनमा हुँदैछ। स्कटल्यान्डमा हुनुपर्ने उक्त सिरिज कोरोना महामारीको कारण स्पेनमा हुने लागेकाे हाे।
यद्यपि,क्यान र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक रुपमा भने जानकारी दिएका छैनन्। कोरोना महामारीको कारण क्यानले २० खेलाडी स्पेन भ्रमणको लागि माग गर्दै आएको छ।
वाट्माेर गत माघमा नेपाल आएका थिए। त्यसपछि उनले नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिज जिताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।