काठमाडौं– लुम्बिनी विकास कोषले गरेको टेन्डर क्राइटेरियामा सेटिङ भएको खुल्न आएको छ। कोषले ४ वटा प्याकेजको ४ अर्बको कामका लागि गरेको टेन्डर क्राइटेरियामा सेटिङ गरेको भन्दै निर्माण व्यवसायी महासंघले अख्तियार दुरूपयोग अनुसन्धान र सार्वजनिक खरिद अनुगमन कार्यलयलाई पत्राचार गरेको छ। महासंघले ठेक्काको क्राइटेरिया संशोधन गर्नसमेत माग गरेको छ।

कोषले २०७८ जेठ १० गते आह्वान गरेको करिब ४ अर्ब बराबरको टेन्डरमा प्रतिस्पर्धा सीमित हुने गरी ‘क्वालिफिकेसन क्राइटेरिया’ तोकिएको छ । ठेक्काहरुमा तोकिएको अनुभवको शर्त सीमित निर्माण व्यवसायीले मात्रै पूरा गर्नसक्ने अवस्था छ ।
नेपाल निर्माण व्यवसायी महासंघले पनि कोषले ४ वटा प्याकेजमा गरेको ठेक्कामा सहभागी हुन ४ वटा मात्रै निर्माण कम्पनी योग्य देखिएको बताएको छ। मिलेमतोमा टेन्डर भएको दाबी गर्दै महासंघले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुमगन कार्यालयमा लिखित जानकारी नै गराएको छ।

यो ठेक्कामा सहभागी हुन पुरातात्विक क्षेत्रमा एउटै २० करोडको ठेक्कामा काम गरेको अनुभव मागिएको छ। नेपालमा पुरातात्त्विक सम्पदा निर्माणका यति ठूलो काम गरेका ठेकदारको संख्या एकदमै कम रहेको छ।
कोषले सडक तथा ढल पूर्वाधारमा विगत १० वर्षभित्रका तीन आर्थिक वर्षमा ५८ करोडभन्दा बढीको वार्षिक कारोबार गरेका कम्पनीले कम्तिमा ६० करोड भन्दामाथिको काम गरेको अनुभव माग गरेको छ ।
सदस्यसचिव भन्छन् : क्राइटेरिया संशोधामा कुनै समस्या छैन
कोषले लुम्बिनी गुरूयोजना अनुसारको काम गर्न टेन्डर गरेको थियो। महासंघका प्रतिनिधिले अख्तियार र खरिद अनुगमन कार्यलयमा पत्रचार गर्नु भएको रहेको अब उताबाट आएको निर्देशन अनुसार प्रक्रिया अघिबढ्ने कोषका सदस्य सचिव सानुराज शाक्यले बताए।
ठेक्कामा धेरै भन्दा धेरै प्रतिस्पर्धी सहभागी गराउने कोषको लक्ष्य रहेको बताउँदै उनले नेपाल लाइभसँग भने, ‘ठेक्का क्राइटेरियमा केही कडा भएको भए संशोधन हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।