फाइल तस्वीर काठमाडौं– मनसुनका कारण अवरुद्ध सडक खण्ड यथासम्भव छिटो सञ्चालन गर्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन्। सम्भावित जोखिमका क्षेत्रमा पहिलो पन्छाउने, मर्मतसम्भार गर्ने हेभी इक्वीपमेन्ट तयारी अवस्थामा राखेर तत्काल सुचारु गर्न उनले निर्देशन दिएका हुन्।
नेपलको सडकको अवस्था तथा मनसुनले पार्ने प्रभावको विषयमा सम्पन्न समीक्षा गोष्ठीलाई बुधवार सम्बोधन गर्दै उनले सम्भावित स्थानमा पहिरो पन्छाउने, सडक मर्मत–सुधारमा प्रयोग हुने विभिन्न प्रकारका इक्वीपमेन्ट तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएका हुन्।
मनसुन सुरू भएपछि बर्खायाममा मुलुकका विभिन्न राजमार्गमा पहिरो, बाढीले सडक कटान गर्दा यातायात अवरुद्ध हुने गरेको छ।
कार्यक्रममा मन्त्री नेम्वाङले देशैभरका सम्भावित स्थानमा इक्वीपमेन्टहरू परिचालन गर्न र अपुग भएमा भाडामा लिएर भए पनि समयमै यसको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। मन्त्रालय मातहतका कर्मचारीलाई उनले सामान्य अवस्थामा एक दिन पनि कार्यक्षेत्र नछोड्न निर्देशन समेत दिएका छन् ।
नयाँ आयोजना निर्माणका साथै राजमार्ग मर्मत सम्भारलाई समेत विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । राजमार्गहरू खाल्डाखुल्डी रहित बनाउन पनि उनले मातहतका अधिकारीलाई निर्देशन दिएका छन्।
गतवर्षको मनसुनताका मुलुकभरका विभिन्न राजमार्ग, सडकमा गरी कुल २५३ स्थानमा सडक अवरुद्ध भएको सडक विभगको तथ्यांक छ। अरनिको राजमार्ग, कान्तिपथ, बीपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका विभिन्न खण्डमा पहिरोका कारण र तराईतिर बाढीका कारण सडकमा क्षति पुग्नुका साथै पुलहरू पनि बग्ने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।