काठमाडाैं- न्युजिल्यान्डका कप्तान केन विलियम्सनले इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेल गुमाउने भएका छन्।
बायाँ हातको कुँइनोमा चोट लागेपछि उनले बिहिबारदेखि शुरु हुने दोस्रो टेष्ट गुमाउने पक्का भएकाे हाे। न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडका अनुसार उनकाे स्थानमा टम लाथमलाई बाेलाइएकाे छ।
‘विलियम्सनलाई टेष्टमा गुमाउने यो निर्णय पक्कै सजिलो होइन। तर, आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनललाई ध्यानमा राख्दै याे निर्णय लिइएकाे हाे। फाइनलको लागि विलियम्सन तयार हुनेछन्,’ प्रशिक्षक स्टिडले भने।
टेष्ट च्याम्पियनसिप फाइनल आगमी जुन १८ मा इंग्ल्यान्डको साउथह्याप्टमा हुँदैछ। फाइनलमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। उक्त फाइनल तयारी स्वरुप न्युजिल्यान्डले इंग्ल्यान्डसँग दुई टेष्ट सिरिज खेल्ने व्यवस्था मिलाएको थियो।
इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको दोस्रो तथा अन्तिम टेष्ट खेल बिहिबारदेखि बर्मिंघममा शुरु हुनेछ। पहिलो टेष्ट बराबरीमा सकिएको थियो।
विलियम्सन पहिलो इनिङमा १३ रन र दोस्रो इनिङमा एक रनमा आउट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।