काठमाडाैं- नेकपा (एमाले) माधव नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले एकताको एकतर्फी घोषणा गरेर झुक्याउन खोजेको आराेप लगाएकी छिन्।
आइतबार पार्टी एकताका लागि आह्वान गर्दै ओलीले माधव नेपाल पक्षको मागअनुसार पार्टीलाई २०७५ जेठ ३ गते पूर्व (जेठ २ गते) माओवादी केन्द्रसँग एकता हुनु अगाडिको अवस्थाबाट अगाडि बढाउन तयार भएको बताएका हुन्।
सामाजिक सञ्जालमामार्फत् यसकाे प्रतिकृया दिँदै झाँक्रीले एकताको कुरा साच्चै एकताको लागि गरिएको भए दुई पक्षबीचमा सहमति गरेर वरिष्ठ नेता नेपालसहितको संयुक्त वक्तव्यको रूपमा आउनुपर्ने बताएकी छिन्।
‘सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुँदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ,’ उनले लेखेकी छिन्।
एकताका लागि नेपाल पक्षका तत्कालीन सांसदहरुले संसद पुनस्स्थापना तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि आदेश जारी हुनुपर्ने मागदाबीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त पनि ओलीले अगाडि सारेका छन्।
झाकीले यसमा समेत आपत्ति जनाएकी छिन्। ‘बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होइन र?,’ उनले प्रश्न गरेकी छिन्।
लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन र संसद पुनःस्थापना गर्न आफूहरु अदालतको ढोका ढकढकाउन पुगेको उनको जिकिर छ।
उनले ओलीको वक्तव्यलाई एक प्रकारले पार्टी एकता हुन नदिने डिजाइन भएको बताएकी छिन्। बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको स्थायीको बैठक बसेर संस्थागत धारणा दिइने उनले जानकारी दिएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।