काठमाडाैं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्डको 'भाइटालिटी टी-२० ब्लास्ट'बाट बाहिरिएका छन्।
वर्सेस्टरसायर र्यापिड्समा अनुबन्ध भएका सन्दीपले बेलायतको भिसा ढिला आएको र क्वारेन्टिन नियमका कारण भाइटालिटी ब्लास्टबाट बाहिरिएका हुन्।
वर्सेस्टरसायरले उनको स्थानमा न्युजिल्याण्डका स्पीनर इश सोधीलाई अनुबन्ध गरेको छ।
र्यापिड्सले आफ्नो आधिकारिक वेवसाइटमा सन्दीपले भिसा र पासपोर्टकाे कारण सोधीलाई अनुबन्ध गरेको उल्लेख गरेकाे छ।
सन्दीपले डेढ महिनाअघि टी २० ब्लास्ट र द हन्ड्रेड खेल्नका लागि बेलायतको भिसाका लागि निवेदन दिएका थिए। तर, बेलायतको रेड लिस्टमा रहेकोले सन्दीपको भिसा शुक्रबार रातमा आएकाे थियाे। यद्यपि, प्रतियाेगिता यही जुन ९ देखि सुरु हुने छ। अब जाँदा क्वारेन्टिन बस्नुपर्ने भएकाले उनले ५-६ खेल गुमाउने छन्।
नेपालबाट टी २० ब्लास्टका लागि अनुन्ध हुने सन्दीप नै पहिलो खेलाडी थिए।
भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीप दी हन्ड्रेड खेल्न इंग्ल्यान्ड जाने छन्। हन्ड्रेड जुलाई २१ देखि सुरु हुँदैछ। सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध छन्।
‘अब द हन्ड्रेडका लागि जाने तयारी छ। कहाँबाट र कसरी जाने विषयमा एक/दुई दिनमा टुंगो लाग्छ,’ सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।