काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाको त्रिकोणात्मक एकदिवसीय सिरिज स्कटल्यान्डमा आयोजना नहुने भएको छ।
कोरोना महामारीका कारण आगामी जुलाईमा स्कटल्यान्डमा खेलाउन लागिएको त्रिकोणात्मक सिरिज स्पेनमा खेलाउने तयारी भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
‘जुलाई तेस्रो साता स्पेनमा हुने भनेर तीन देशको सहमति भएको छ’ उनले भने, ‘आयोजक आईसीसी र स्पेन सरकार तयार भइसकेको छ।’
स्पेनको अल्मेरियामा रहेको डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानलाई आईसीसीले गत अप्रिलमा ओडिआई मान्यता दिएको थियो। तर, कोरोना महामारीका कारण उक्त सिरिज त्यहाँ हुने नहुने अझै पक्का नभइसकेको उनको भनाइ छ।
‘हामीले सरकारलाई र आईसीसीसमक्ष प्रस्ताव राखेका छौं। तर अन्तिम निर्णय भने त्यहाँको लोकल अथोरिटीरे गर्छ। फ्लाइट, भिसा, क्वारेन्टिन नियम, खेलाडी संख्या र म्याच अफिसियल्सबारे निर्णय हुन पनि बाँकी छ। उनीहरुको जवाफ एकदुई दिनमा आउँछ भन्ने विश्वास छ,’ उनले भने।
उक्त सिरिज हुन डेढ महिना बाँकी छ। तर, कोरोना महामारीको कारण सरकारको लकडाउन गरेसँगै नेपाली टोलीले प्रायाप्त अभ्यास गर्न पाएको छैन। यता, लकडाउन शुरु भएसँगै नेपाली टोलीका प्रशिक्षक मुख्य प्रशिक्षक डेभ वाटमोर पनि स्वदेश फिर्ता भइसकेका छन्।
‘प्रशिक्षक वाटमोर हाल परिवारसंग श्रीलंकामा छन्। सिरिजबारे टुङ्गो लागेपछि उहाँलाई बोलाउँछौं,’ उनले भने। उनले सिरिज पक्का भए सरकारसँग अनुमति लिएर केही समय खेलाडीको प्रशिक्षण गर्ने जानकारी पनि दिए।
‘अहिले कोरोना महामारीका कारण खेल गतिविधि ठप्प छ। त्यसैले तयारी गर्न पाएका छैनौं। अब सरकारसँग अनुमति लिएर केही समय खेलाडीको प्रशिक्षण शुरु गर्छौं। त्यसपछि विदेश गएर प्रशिक्षण गराउनुपर्छ,’ उनले भने।
सन् २०२३ मा भारतमा हुने ओडिआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग २ मा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। एकदिवसिय त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरीसम्म चल्ने छ।
सबै टोलीले होम र अबे त्रिकोणात्मक सिरिज खेल्ने छन्। हरेक टिमले ९ सिरिज खेल्न पाउनेछ। अर्थात ९ टोलीले ३६ खेल खेल्ने छन्।
शीर्ष तीन टोली २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा स्थान बनाउने छन्। पुछारका चार टोलीले क्वालिफायर खेल्नेछा्। क्वालिफायरमा शीर्ष दुईमा पर्न सके ग्लोबल छनोट खेल्ने अवसर पाउने छन्।
२०१९ देखि सुरु भएको सिरिजमा नेपालले भने अहिलेसम्म जम्मा एक सिरिज खेलेको छ। २०१९ फेब्रुअरीमा घरेलु मैदानमा नेपालले ओमान र अमेरिका सम्मिलित सिरिज खेलेको थियो। जसमा ओमानसँग दुई खेलमा पराजित हुँदा अमेरिकालाई दुवै खेलमा हराएको थियो। नेपाल ४ खेलमा ४ अंकसहित छैटौं स्थानमा छ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ।स्कटल्याण्ड ८ खेलबाट ९ अंकसहित तेस्रो र नामिबिया ७ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।