काठमाडाैं- उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोकाे अभिव्यक्तिविरूद्व नेकपा (एमाले)का बरिष्ठ नेता माधव नेपालपक्षीय अनेरास्ववियुले आइतबारदेखि देशभर प्रदर्शन गर्ने भएका छन्।
अनेरास्ववियुले महतोले संविधानविरोधी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध देशभर प्रदर्शन गर्न लागेकाे हाे।
महतोले शुक्रबार मन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको अजेन्डा भएको बताएका थिए। त्यसलाई उनले शनिबार पनि दोहोर्याएका छन्। यो भनाइको चौतर्फी आलोचना भइरहेको छ।
आजै नेपालपक्षका विद्यार्थी संगठनले काठमाडाैंकाे नयाँ बानेश्वरमा महतोको पुत्ला दहन गरेका थिए।
पुत्ला दहन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीसहित महासचिव आरती लामालगायत ११ जनालाई प्रहरीले लाठी प्रहार गर्नुका साथै पक्राउ गरेको थियो।
प्रर्दशनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा दुई घण्टा राखेर उनीहरुलाई रिहा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।