काठमाडाैं- नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालपक्षका १४ स्थायी कमिटी सदस्यले ‘बहुल राष्ट्रिय राज्य बनाउने’ भन्ने उपप्रधान एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोको अभिव्यक्ति निन्दनीय रहेको बताएका छन्।
महतोले शुक्रबार मन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको अजेन्डा भएको बताएका थिए। उनकाे अभिव्यक्ति संविधानविरोधी भएको भन्दै एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यसको जवाफ दिनुपर्ने नेपालपक्षकाे जिकिर रहेकाे छ।
‘उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जाना साथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ। उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाविरुद्ध रहेको उनीहरुको भनाइ छ।
महतोको अभिव्यक्ति कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुन नसक्ने सो पक्षको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।