काठमाडाैं- सरकारले आगामी अर्थिक वर्षको बजेटमार्फत् सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिने भएको छ। पृथ्वी राजमार्गको नागढुङ्गामा सुरुङमार्ग निर्माण आरम्भ भएसँगै देश सुरुङमार्गको युगमा प्रवेश गरेको बजेटमा उल्लेख छ।
काठमाडाैंको नागढुङ्गादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण कार्यलाई तीव्रता दिई दुई वर्षभित्र सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ। यस आयोजनाका लागि ९ अर्ब ८५ करोड विनियोजन गरिएको छ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा-दोभानखण्ड, दोलखाको लामाबगर-लाप्चे र धरान-धनकुटा सडकखण्डको धरान-लेउती सुरुङमार्ग निर्माण प्रारम्भ गर्न बजेट व्यवस्था गरिएको छ।
काठमाडाैं कोटेश्वरको सवारी चापलाई व्यवस्थित गर्न तिनकुने-जडीबुटी खण्डमा सुरुङमार्ग निर्माण गर्न एक अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्ष टोखा-छहरे-गुर्जुभज्याङ, वेत्रावती-स्याफ्रुवेशी, खुर्कोट-चियावारी र थानकोट-चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गरिने बजेटमा उल्लेख छ।
पृथ्वी राजमार्गको मझिमटार-शक्तिखोर, पोखरा बाग्लुङ राजमार्गको हेम्जा-नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ-वाङ्गसिङ, पूर्व-पश्चिम राजमार्गको दुम्कीवास-वर्दघाट, कोहलपुर-सुर्खेत राजमार्गको बबई-छिन्चु, सुर्खेत-दैलेख सडकको कपासे-सियाकोट, पाल्पा-तम्घास सडकको प्रभास-जोर्ते रविपिनगर-खुटिया-दीपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।