काठमाडाैं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टि२० ब्लास्ट र द हन्ड्रेड २०२१ प्रतियोगिता खेल्नको लागि भिसा नपाएकाे गुनासाे गरेका छन्।
सामाजिक सञ्जालमार्फत् उनले टि२० ब्लास्ट र द हन्ड्रेड खेल्नको लागि इंग्ल्यान्डको लागि आवेदन दिएको झण्डै एक महिना भइसक्दा पनि भिसा नपाएकाे बताएका हुन्।
सम्बन्धित निकायलाई सम्पर्क गर्दा पनि स्पष्ट कुनै जानकारी नपाएको उनले बताएका छन्।‘मैले इंग्ल्यान्डको भिसाको लागि आवेदन दिएको झण्डै एक महिना भयो। मेरो उडान समय नजिक आउँदै छ। अफिसमा फोन गरेर जानकारी लिइरहेको छु । तर, स्पष्ट कुनै जानकारी पाएको छैन। मलाई थाहा छ यो कठिन समय हो,’ सन्दीपले ट्वीट गर्दै भनेका छन्।
सन्दीपले वोर्सेस्टरशायरबाट टि२० ब्लास्ट खेल्नेछन्। टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ। सन्दीप इंग्ल्यान्डमा पहिलो पटक व्यावसायिक फ्रेन्चाइज क्रिकेट लिन खेल्न लागेका हुन्। सन्दीपले द हन्ड्रेड प्रतियोगिता ओभल इन्भिनसिभल्सबाट खेल्नेछन्। प्रतियोगिता जुलाई २१ देखि सुरु हुनेछ।
नेपालमा दोस्रो लहरको कोरोना महामारी फैलिएसँगै सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाे छ। यद्यपि, चार्टर उडान भने सञ्चालन गर्न दिएकाे छ। भिसा नपाउँदा उनले टि२० ब्लास्ट गुमाउन सक्ने सम्भावना बढेकाे छ।
यता इंग्ल्यान्ड सरकारले विदेशबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्ने नियम बनाएकाे छ। सन्दीपले भिसा पाएपनि १० दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।यसका अलवा दुई पटक पीसीआर परीक्षण गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।