काठमाडाैं- काेराेना महामारीकै समयमा श्रीलंकाको टी-२० लंका प्रिमियर लिग (एलपीएल)को दोस्रो संस्करणकाे घाेषणा गरिएकाे छ। शनिबार श्रीलंका क्रिकेट बोर्ड (एसएलसी)ले दोस्रो संस्करणकाे एलपीएलकाे मिति घाेषणा गरेकाे हाे।
एसएलसीका अनुसार ५ टाेली सहभागी हुने प्रतियाेगीता ३० जुलाईदेखि २२ अगस्टसम्म चल्ने छ। पछिल्लाे सिजन लिग नोभेम्बरदेखि डिसेम्बरकाे बीचमा खेलाइएको थियो। यसपालि काेराेना संक्रमणकै कारण केही ढिलाे भएकाे बुझिएकाे छ।
'यस सिजन आयोजना गर्नका लागि उपयुक्त समय पाएका छौं र हामी प्रतियोगितासँग सम्बन्धित अन्य बुँदाहरूलाई अन्तिम रूप दिइरहेका छौं,'श्रीलंका क्रिकेट बोर्डको व्यवस्थापन समितिका अध्यक्ष अर्जुन डिसिल्वाले भने।
उनका अनुसार लिगमा कोलम्बो किंग्स, दाम्बुला वाइकिंग्स, जाफ्ना स्टालियन्स, गाल ग्दाडियटर्स र क्यान्डी टस्कर भाग लिनेछन्। यी ५ टाेलीबीच ४० खेल खेलाइनेछ।
गत सिजनको एलपीएलको उपाधि जाफ्ना स्टालियन्सले जितेको थियो। उसले गाल ग्दाडियटर्सलाई हराउँदै पहिलो संस्करणको उपाधि हात पारेको हो।
यो पटक कोरोनाका कारण सबै म्याच बिनादर्शकको मैदानमा हुनेछन्। एलपीएलको गत सिजनमा भारतीय खेलाडीहरूले पनि सहभागिता जनाएका थिए।
पहिलो सिजनको एलपीएलमा इरफान पठान, मुनाफ पटेल, मनप्रीत गोनीलगायत भारतीय खेलाडीले पनि खेलेका थिए।
गत सिजन बलिउड अभिनेता सलमान खानका भाई सोहेल खानले एलपीएल फ्रेन्चाइज टोलि क्यान्डी टस्कर खरीद गरेका थिए।
श्रीलंकाका पूर्व कप्तान हैशान तिलकरत्ने मुख्य प्रशिक्षक रहेको क्यान्डी टस्करले श्रीलंकाका कुसल परेरा, कुसल मेंडिस, नुवान प्रदीप लगायत बिदेशी खेलाडीहरु क्रिस गेल र लियाम प्लङकेट जस्ता खेलाडीहरू समावेश गरेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।