काठमाडाैं- पाकिस्तानका कप्तान बाबर आजमले आईसीसीको ‘प्लेयर अफ द मन्थ’ अवार्ड जितेका छन्।
अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल र पाकिस्तानका ओपनर फखार जमानसँगै कप्तान बाबर आजम मनयोनमा परेका थिए।
आजमले दक्षिण अफ्रिकासँग ओडिआई र टि२० आई सिरिज जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसैको आधारमा उनले याे अवार्ड जितेका हुन्। यस अवार्डको विजेता आइसीसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा गरिएको हो।
आइसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति थियो। आइसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ। दुवै जोडेर सर्वाधिक मत बाबरले पाएका हुन्।
पाकिस्तानका कप्तान आजमले दक्षिण अफ्रिकासँगकाे ओडिआई र टी२० आई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए। दक्षिण अफ्रिकासँग अप्रिल २ मा पहिलो ओडिआई खेलमा उनले १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए।
तेस्रो तथा निर्णायक ओडिआई खेलमा ९४ रनको महत्वपूर्ण इनिङ खेलेका थिए। त्यस्तै टी२० आई खेलमा १ सय २२ रनको कीर्तिमानी इनिङ खेलेका थिए।
उक्त खेलबाट १३ अंक बटुल्दै बाबरले आफ्नो करियरमै सबैभन्दा बढी ८६५ प्वाइन्ट बनाएका थिए। त्यस्तै, उनले दक्षिण अफ्रिकाविरुद्धको टी-२० शृंखलाको अन्तिम खेलमा ५९ बलमा १२२ रन बनाएका थिए।
यता, कुशलले नेपालको टी२० आई टोलीबाट डेब्यू गर्दै विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए। उनले डेब्यूसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका थिए। कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो टि२० आई खेलाडीसमेत हुन्।
कुशलले नेदरल्यान्ड्सको खेलमा डेब्यू गर्दै ६२ रन बनाएका थिए। दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ रन बनाएका थिए। तेस्रो खेलमा नेदरल्यान्ड्सँग कुशलले ६२ रन बनाउँदै लगातार तेस्रो अर्धशतक प्रहार गरेका थिए। चौथो खेलमा मलेसियासँग १६ र फाइनलमा उनले नेदरल्यान्ड्ससँग ७७ रन बनाएका थिए।
ओपनर जमानले पनि दक्षिण अफ्रिकासँग दोस्रो र तेस्रो ओडिआई खेलमा लगातार शतक प्रहार गरेका थिए। दक्षिण अफ्रिकासँग दोस्रो ओडिआई खेलमा जमानले १ सय ९३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए।
तेस्रो ओडिआई खेलमा १ सय १ रनको उत्कृष्ट शतकीय इनिङका साथ सिरिज जिताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।