काठमाडाैं- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनकी पत्नी अभिनेत्री अनुष्का शर्माले भारतको कोभिड-१९ राहत कोषका लागि २ करोड भारू सहयोग गरेका छन्।
कोहली दम्पतिले शुक्रबार सामाजिक सञ्जालमार्फत् अहिले भारतको अवस्था कठिन भएको बताउँदै कोरोनाविरुद्ध लड्न २ करोड दिने घोषणा गरेका हुन्।
'भारतको लागि महामारीको लडाइँका लागि परिस्थिति धेरै गाह्रो भएको छ। यसले हाम्रो देशलाई पीडा भएको देख्दा हामी पनि पीडामा छौं,' उनीहरुले भनेका छन्, 'जो रातदिन हाम्रो लागि संघर्ष गर्दैछन्, तिनीहरूको समर्पणको प्रशंसा गर्छौं। अब उनीहरूलाई हाम्रो सहयोग चाहिएको छ र हामी उनीहरूको पक्षमा उभिनुपर्छ।'
यस्तै उनीहरुले कोरोनाविरुद्ध लड्नका लागि आर्थिक संकलनको अभियान समेत शुरु गरेका छन्। यो अभियान शुक्रबारबाट शुरु हुनेछ।
'हामीले केट्टो प्लाटफर्मबाट युनाईटेड वे अफ बेन्ग्लुरुनामक एनजीओसँग मिलेर रकम जुटाउन सुरू गरेका छौं,' उनले भनेका छन्,'हामी सबैलाई यस पहलमा सामेल हुन र अनुदान दिन आग्रह गर्दछौं।'
यस अभियानबाट ७ करोड भारू सहयोग उठाउने लक्ष्य लिइएको छ। उक्त अभियानकै लागि कोहली दम्पतिले २ करोड दिने घोषणा गरेका हुन्।
यसअघि कोहली आबद्ध आईपीएल टिम रोयल च्यालेन्जर्स बैंग्लोरले पनि स्वास्थ्य सामग्री सहयोग गर्ने बताएको थियो। भारतमा कोरोना कहर जारी छ। पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार १ सय ८८ संक्रमित थपिएका छन्।
यसका साथै भारत सरकार मुख्य वैज्ञानिक सल्लाहकार के विजयराघवनले अहिलेकाे अवस्था हेर्दा भारतमा तेस्राे लहर आउने निश्चित देखिएकाे बताएका छन्।
उनले कहिले आउने भन्ने एकिन नभएकाे भन्दै काेभिडकाे प्राेटाेकल पालना गरिराख्नुपर्ने बताए।
नयाँ म्युटेन्टसँग लड्न भ्याक्सिनलाई अपडेट गर्नु जरुरी भएकाे बताए। भाइरसले जब म्युटेट गर्न शुरु गर्छ त्यसपछि मानिसहरुले अझै सावधानी अपनाउनु पर्ने उनकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।