काठमाडाैं- कोरोना महामारीको कारण मध्य सिजनमै इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालकाे लागि स्थगित भएसँगै इंग्ल्याण्ड ८ खेलाडी स्वदेश फर्किएका छन्। ११ मध्ये ८ खेलाडी बुधबार बिहान लण्डन पुगेका हुन्।
टाइम्स अफ इन्डियाका अनुसार उनीहरु भारतबाट श्रीलंका र माल्दिभ्स हुँदै लण्डन पुगेका हुन्। भारतमा काेराेना महामारीकाे दाेस्राे लहर सुरु भएसँगै बेलायतले सिधा उडान रद्द गरेकाे छ।
यसरी स्वदेश फिर्ता जानेमा चेन्नई सुपर किंग्सका मोईन अली र साम करन, दिल्ली क्यापिटल्सका टम करन, क्रिस वोक्स र साम विलिंग्स रहेका छन्।
यता, सनराइजर्स हैदराबादका जेसन रोय र जोनी बेयरस्टो, राजस्थान रोयल्सका जस बटलर पनि स्वदेश फिर्ता भएका छन्।
कोलकाता नाइट राइडर्सका कप्तान ओईन मोर्गन, पन्जाब किंग्सका शीर्षक्रमका ब्याट्सम्यान डेविड मलान र तीव्र गतिका बलर क्रिस जोर्डनले भने आगमी ४८ घण्टामा भारत छाड्ने छन्।
इंग्ल्यान्ड पुगेका ८ खेलाडी सरकारले अनुमती दिएको होटलमा १० दिन अनिवार्य क्वारेनटाइन बस्नुपर्ने हुन्छ। उनीहरुकाे दुई पटक कोरोना परीक्षण हुने जनाइएकाे छ।
राजस्थानका लिभिङ स्टोनले भने यसअघिनै भारत छोडि सकेका थिए। आयाेजक र अनुबन्धित क्लबकाे समन्वयमा बाँकी रहेका खेलाडीलाई पनि स्वदेश फर्काइने भएकाे छ। तर, अष्ट्रेलिया खेलाडीको अन्यौलमै रहेका छन्।
अष्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई मे १५ सम्म भारतबाट आउन प्रतिबन्ध लगाएको छ। अष्ट्रेलिया खेलाडीलाई माल्दिभ्स र श्रीलंका लैजाने तयारी गरिएको छ।
अष्ट्रेलिया पूर्व खेलाडी तथा चेन्नई सुपर किंग्सका मुख्य प्रशिक्षक माइकल हसीलाई भने मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका छन्। उनकाे रिपाेर्ट मंगलबार नै आएकाे थियाे। यद्यपि, टाेलिले पुन: काेराेना परीक्षण गराएकाे थियाे। यद्यपि, दाेस्राे परीक्षणमा पनि उनकाे रिपाेर्ट पाेजिटिभ आएकाे बताइएकाे छ।
'काेराेना संक्रमण पुष्टि भएपछि उनलाई १० दिनकाे लागि दिल्लीस्थित टाेलीकाे हाेटेलमा एक्लै राखिएकाे छ,' क्रिकइन्फोले भनेकाे छ।
सोमबार चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको थियो।
यसअघि कोलकाता नाइट राइडर्सका नितीश राणा, आरसीबीका देवदत्त पडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया र डेनियल स्याम्स संक्रमित भएका थिए।
यस्तै, कोलकाता तीव्र गतिका बलर प्याट कमिन्स, स्पिनर बरुण चक्रबर्ती, सन्दीप वारियर पनि संक्रमित भएका थिए।
सनराइजर्स हैदराबादका विकेटकीपर वृद्धिमान साह र दिल्ली क्यापिटलका लेगस्पिनर अमित मिश्रामा पनि मंगलबार काेराेना संक्रमण पुष्टि भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।