काठमाडौं- थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल अब ‘कोभिड अस्पताल’ मा रूपान्तरण भएको छ।
अस्पतालले मंगलबार विज्ञप्तिमार्फत् ‘कोभिड अस्पताल’को रूपमा रूपान्तरण गर्दै सेवा दिन सुरू गरेको जानकारी दिएको हो। यसरी सेवा दिन थालेको केही दिन भइसकेको पनि अस्पतालले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रित गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए। उनले बिरामीहरूको अनुरोधलाई मध्यनजर गरी नर्भिकले आफूलाई कोभिड अस्पतालमा रूपान्तरण गरेको प्रस्ट पारे।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा रूपान्तरणका लागि गरेका घोषणाको सिंहले स्वागत गरे। ‘नर्भिकले कोभिड संक्रमणको दोस्रो लहर सुरू भएसँगै यो अवस्थाको आकलन गरी अस्पताललाई कोभिड अस्पतालमा रूपान्तरण गरिसकेको थियो,’ उनले भने, ‘सरकारले समेत सोहीअनुसारको घोषणा गरेकोमा हामी खुसी छौं। अब अरूले पनि आफ्नो सेवालाई कोभिड केन्द्रित गर्नुपर्ने देखिएको छ।’
कार्यकारी निर्देशक सिंहकाअनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शय्यामध्ये ९० शय्या कोभिड शय्याको रूपमा रूपान्तरित भइसकेका छन्। ती ९० शय्या कोभिडका बिरामीले भरिएका छन्।
नर्भिकमा रहेका ३५ आईसीयू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ। अस्पतालले सरकारको नीति निर्देशनभित्र रहेर बेड संख्या थप गर्ने विषयमासमेत गृहकार्य गरिरहेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।