काठमाडौं- न्याय परिषद्का सदस्य लक्ष्मीबहादुर खड्का ‘निराला’को कोरोना संक्रमणका कारण निधन भएको छ। कोरोना संक्रमण भएपछि सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत निरालाको मंगलबार निधन भएको हो।
केही दिनदेखि उनको आईसीयूमा उपचार भइरहेको थियो। कोरोना संक्रमणपछि श्वास-प्रस्वासमा समस्या भएपछि उनलाई सशस्त्रको कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
निराला २०७६ पुस २० गते संघीय संसदको संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुँदै न्याय परिषद् सदस्य भएका थिए। संसदीय सुनुवाइ समितिमा उनले आफूले अदालतभित्र रहेका विकृतिको विषयमा काम गर्ने उद्देश्यमात्र बोकेको वाचा गरेका थिए।
पूर्वराजा ज्ञानेन्द्र शाहको पालामा सरकारको कानुनी सल्लाहाकार (महान्यायाधिवक्ता) भएका वरिष्ठ अधिवक्ता निराला कानुन क्षेत्रका चर्चित अनुहार हुन् ।
उनी २०६२ पुस ११ गतेदेखि २०६३ वैशाख ५ गतेसम्म ४ महिना महान्यायाधिवक्ता भएका थिए। राजा ज्ञानेन्द्रले संसद् पुन:स्थापन हुने भन्दै जनताको नासो जनतालाई नै सुम्पेको घोषणा गरेपछि खड्काले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए।
उनीसँग ५४ वर्षको न्याय क्षेत्रको अनुभव थियो। निराला २०२२ सालदेखि न्याय क्षेत्रमा लागेका थिए। करिब २ वर्षदेखि उनी परिषद्को सदस्यको रूपमा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।