काठमाडौं- परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका कोरोना संक्रमित महिला बिरामीका लागि ५० शय्याको हाई डिपेन्डेसी युनिट (एचडीयू) संचालनमा ल्याएको छ।
संक्रमितको संख्या बढेसँगै अक्सिजन मात्र चाहिने मध्यम खालका बिरामीले टेकु अस्पतालमा बेड नपाउने स्थिति भएकाले त्यहाँ आएका महिला संक्रमितका लागि प्रसूतिगृहमा एचडियु सञ्चालने निर्णय गरिएको हो।
प्रसुति गृहकी निर्देशक डा संगीता कौशल मिश्रले ५० शय्याको एचडीयूमध्ये २० प्रतिशत शय्या भने गर्भवतीका लागि मात्र छुट्याएर राख्ने बताइन्।
उनले भनिन्,‘२० प्रतिशत बेड गर्भवतीका लागि मात्र राख्छौँ। सबै बेड संक्रमित महिलाका लागि मात्र राख्दा संक्रमित गर्भवती आउनुभयो भने कहाँ राख्ने समस्या हुन्छ। अस्पतालसँग भएको जनशक्तिको आधारमा ५० बेडको एचडीयू संचालनमा ल्याएका हौँ।’
उनले टेकु अस्पतालमा आएका मध्यम खालका महिला संक्रमितहरुलाई मात्र एचडीयूमा राख्ने स्पष्ट पार्दै भनिन्, ‘टेकु अस्पतालमा आएका र अक्सिजन सहितको केयर मात्र चाहिने केस मात्र राख्छौँ। टेक अस्पतालको ओभरलोड कम गर्न हामीले केही कोसिस गर्न खोजेका हौँ।‘
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले टेकु आएका संक्रमितहरुलाई बेड अभाव भएको खण्डमा प्रसूति गृहको आइसोलेसनमा राख्ने छलफल भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।