काठमाडौं– भारतमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमितको संख्या पछिल्लो समय विस्तारै ओरालो लागेको देखिन्छ। केही दिनअघि दैनिक चार लाख नाघ्न थालेको यो संख्या बिस्तारै घट्न थालेको तथ्यांकले देखाउँछ।
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ५५ हजार ८२८ जना नयाँ संक्रमित थपिएका हुन्। यो यसअघिका केही दिनको तुलनामा भने कम हो। अघिल्लो दिन भारतमा ३ लाख ७२ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड २ लाख नाघेको छ।
भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ। पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो।
पछिल्लो २४ घण्टामा ३४ सय ३८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख २२ हजार ३८३ पुगेको छ। संक्रमितमध्ये एक करोड ६६ लाखभन्दा बढी निको भइसकेका छन् करिब ३४ लाख सक्रिय संक्रमित रहेका छन्।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३२ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब ३८ हजार संक्रमित थपिएका छन् भने ४४३ जनाको मृत्यु भएको छ।
तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ४८ लाख संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ३६ हजारभन्दा बढी संक्रमित थपिँदा १ हजारभन्दा बढीको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।