फाइल तस्वीर
काठमाडाैं- सरकारले फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता दिने भएकाे छ।
आइतबार बसेकाे मन्त्रीपरिषद् बैठकले चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई शुरुको तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेकाे हाे। साथै उनीहरुकाे स्वास्थ्य बीमा र परिवारको उपचार गर्ने बैठकले निर्णय गरेकाे छ।
यस्तै, जनशक्ति अभाव हुन नदिन अवकाश प्राप्त चिकित्सक र अन्य स्वाथ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने निर्णय पनि गरिएकाे छ।
'नियुक्त स्वास्थ्यकर्मीलाई ६ महिनासम्म सम्बन्धित राहको शुरु तलबस्केलमा ५० प्रतिशत थप गरी र बाँकी ६ महिनाका लागि सम्बन्धित तहको शुरु तलबस्केल बराबरको पारिश्रमिक उपलब्ध गराउने,' निर्णयमा भनिएकाे छ।
यसरी करारमा नियुक्त भएका स्वास्थ्यकर्मीलाई संघ, प्रदेश र स्थानीय तहका अस्पताल, प्रयोगशाला, सूचीकृत आइसोलेसन, क्वारेन्टिन, सीमा नाकामा रहेका हेल्थ डेस्क र केस इन्भेष्टिगेशन तथा कन्ट्याक्ट ट्रेसिङका लागि खटाइने छ।
यस्तै, काेराेना संक्रमितकाे पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन, शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सफाइकर्मी र सुरक्षाकर्मीको जोखिम भत्ता उपलब्ध गराउने बैठकले निर्णय गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।