काठमाडाैं- औषधि व्यवस्था विभागले कोभिड-१९ को बिरामीका लागि प्रयोग हुने औषधिहरुको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री वितरण गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ।
विभागले सोमबार सूचना जारी गर्दै रेम्डिसिभिरलगायत औषधिको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री वितरण गरिरहेको गुनासो आइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। यस्तो कार्य न्यूनतम मानवीय संवेदनाविपरीत हुने भन्दै विभागले तोकिएको अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
कोरोना संक्रमितको संख्या बढेसँगै कोरोनाका बिरामीलाई प्रयोग हुने औषधिहरुको अभाव बढेको गु्नासो आइरहेको छ। यस विषयमा सञ्चारमाध्यममा समाचार आएपछि विभागले सूचना जारी गरी कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गर्ने व्यवसायीमाथि कारबाहीको चेतावनी दिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।