काठमाडाैं- काेराेना संक्रमण न्यूनिकरणकाे लागि लमजुङका दुई स्थानमा एक साता निषेधाज्ञाकाे आदेश जारी गरिएकाे छ।
साेमबार बसेकाे जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)काे बैठकले मंगलबार बिहान ६ बजेदेखि वैशाख २७ गते मध्यराति १२ बजेसम्म लागू हुनेगरी राइनास नगरपालिका ७ र दूधपोखरी गाउँपालिकाको वडा १ र २ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञाकाे आदेश जारी गरेकाे हाे।
निषेधाज्ञा जारी भएका क्षेत्रमा औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि कार्यका लागि बाहिर निस्कन नपाउने प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले जानकारी दिए।
यस्तै, एम्बुलेन्स, विरामी बोकेका गाडि, निर्माण सामग्री ढुवानीका साधन, पशुपक्षीका दाना बोकेका गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधनबाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यानु तथा मालवाहक सावरी साधन (मोटरसाइकल) सञ्चालन गर्न राेक लगाइएकाे छ।
अत्यावश्यक उपभोग्य वस्तु विक्रि गर्ने खाद्यान्न तथा तरकारी पसल,पेट्रोल पम्म, ग्यास डिपो, औषधी पसलबाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न नदिइने बैठकले निर्णय गरेकाे प्रजिअ लुइटेलले जानकारी दिए।
तर, खाद्यान्न तथा तरकारी पसल विहान ६.०० बजे देखि ९.०० बजेसम्म मात्र खोल्न पाइने छ।
यस्तै, धार्मिक, साँस्कृतिक, सामाजिक क्रियाकलाप विवाह व्रतबन्धलगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलाप सञ्चालन गर्न राेक लगाइएकाे छ।
आदेशको अवज्ञा गरी गरे/गराइएको पाइएमा सक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ एवं अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रजिअ लुइटेलले चेतावनी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।