काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको अधिवेशनका लागि संसद् सचिवालयले तयारी थालेको छ। कोरोना महामारीकाबीच हुने अधिवेशनका लागि स्वास्थ्यका मापदण्ड पालना हुनेगरी तयारी थालिएको हो।
संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेकाअनुसार सोमबार संसद् भवन पुगेर सभामुख अग्निप्रसाद सापकोटाले अवलोकन गर्नुका साथै चिकित्सकसँग छलफल गरेका छन्। सुरक्षित रूपमा सांसदहरूलाई अधिवेशनमा भाग लिने व्यवस्था मिलाउने विषयमा ६ जना चिकित्सकसँग छलफल गरेको उनले बताए।
उनले भने, 'अधिवेशनलाई सुरक्षित कसरी बनाउने भन्ने विषयमा तयारी थालेका छौं। विभिन्न विकल्पमा छलफल भएको छ।'
प्रतिनिधि सभामा सहभागी हुनुअघि सबै सांसदको पीसीआर परीक्षण गर्ने, खोप लगाउने र सामाजिक दूरी कायम राख्ने तयारी भइरहेको उनले बताए।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबारका दिन अपराह्न १ बजे बैठक बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन बोलाएकी छिन् । सोमबार संसद् सचिवालयले सूचना जारी गरेर प्रतिनिधि सभामा उपस्थित हुन सांसदहरूलाई अनुरोध गरेको छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको विश्वास लिन खोजेकाले सोही प्रयोजनका लागि अधिवेशन आह्वान गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।