काठमाडाैं- श्रीलंका अलराउन्डर थिसारा परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३२ वर्षिय परेराले सोमबार सन्यासकाे घोषणा गरेका हुन्।
तीव्र गतिमा बलिङ गर्ने परेराले सन् २००९ मा कोलकातामा भारतविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए। टी२० आईमा भने २०१० मा जिम्बावेविरुद्ध उनले डेब्यू गरेका थिए। यस्तै, टेष्टमा उनले डेब्यू २०११ मा इंग्ल्यान्डविरुद्ध गरेका थिए। टेष्टमा ११ विकेट लिँदा उनले २ सय ३ रन बनाएका छन्।
उनी तल्लोक्रममा उत्कृष्ठ ब्याट्सम्यान हुन्। २०१४ मा श्रीलंकाले टी२० विश्वकप उपाधि जित्दा उनी टिमकाे महत्वपूर्ण सदस्य थिए।
उनले श्रीलंकाबाट ६ टेष्ट, १ सय ६६ ओडिआई र ८४ टि२० आई खेल खेलेका छन्। उनले ओडिआई र टी२० आई क्रिकेट दुबैमा ह्याट्रिक गरेका छन्।
उनले ओडिआई १ सय ७५ विकेट लिएका छन्। उनले कुल २ हजार ३ सय ३८ रन बनाएका छन्।
परेराले अन्तिम ओडिआई गत मार्चमा वेस्टइन्डिजविरुद्ध खेलेका थिए। टी२० आईमा उनले ५१ विकेट लिदा ब्याटिङमा १ हजार २ सय ४ रन बनाएका छन्।
२०११ मा श्रीलंका विश्वकप फाइनलमा पुग्दा परेरा पनि टोलीमा महत्वपूर्ण सदस्य थिए। २०१७ मा थिसारा परेराले सिमित ओभरमा श्रीलंका कप्तानी समेत गरेका थिए।
परेराले २०१३ मा दक्षिण अफ्रिका बलर रोविन पिटरसनलाई एकै ओभरमा पाँच छक्का, एक चौका र वाइडसहित कुल ३५ रन जोडेका थिए। अघिल्लो महिनामात्र उनले ‘श्रीलंका मेजर क्लब सीमित ओभर टूर्नामेन्ट’मा एकै ओभरमा ६ बलमा ६ हिर्काएका थिए।
लिष्ट ‘ए’ म्याचमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबबाट खेल्दै परेराले ब्लूमफील्ड क्रिकेट एण्ड एथलेटिक क्लबविरुद्ध ६ बलमा ६ छक्का हिर्काएका हुन्।
परेराले म्याचको ४१औँ ओभरमा स्पिनर दिलन कोरेलाई लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए। योसँगै उनी एक ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो श्रीलंकन खेलाडी बनेका छन्।
पहिलो पारीको २० बल बाँकी छँदा मैदान प्रवेश गरेका उनले १३ बलमा ८ छक्कासहित नटआउट ५२ रनको योगदान दिए। उनको स्ट्राइक रेट ४०० को थियो।
लिष्ट ‘ए’ क्रिकेटमा यो दोस्रो सर्वाधिक छिटो अर्धशतक हो। यसअघि सन् २००५ मा कौशल्या वीरत्नेले १२ बलमा अर्धशतक बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।