मुम्बई (भारत)- ओपनर जस बटलरको उत्कृष्ट शतकको सहयोगमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएकाे खेलमा जित निकालेको छ।राजस्थानले सनराइजर्स हैदराबादलाई ५५ रनले पराजित गर्दै तेस्राे जित हात पारेकाे हाे।
जितका लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६५ रन समेटिएकाे थियाे।
हैदराबादका ओपनर मनिष पाण्डेले सर्वाधिक ३१ रनको योगदान दिए। उनले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर जोनी बेयरस्टोले ३० रन बनाएका थिए। उनले २१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यस्तै, कप्तान केन विलियम्सन २०, केदार जाधव १९, मोहम्मद नाबी १७, भुवनेश्वर कुमारले १४ र अब्दुल सामदले १० रनको योगदान दिए। राजस्थानका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानले ३ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चेका थिए।
क्रिस मोरिसले पनि ३ विकेट लिए। उनले ४ ओभरमा २९ रन खर्चे। कार्तिक त्यागि र राहुल टेवाटियाको १/१ विकेट लिए।
त्यसअघि अरुण जेटली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो।
राजस्थान ओपनर जस बटलरले सर्वाधिक १ सय २४ रनको सर्वोत्कृष्ट शतकीय इनिङ खेले। उनले ६४ बलमा ११ चौका र ८ छक्का प्रहार गरे।
उनकाे आईपीएल र टि२० करिअरमा पहिलो शतक हाे। यस्तै कप्तान सन्जु सामसनले ४८ रनको योगदान दिए। उनले ३३ बलमा ४ चाैक र २ छक्का प्रहार गरे। यता, यास्भी जैशवाल १६ र रियान परागले १५ रन बनाए।
हैदराबादका विजय शंकर, सन्दीप शर्मा र राशिद खानले १/१ विकेट लिए।
जितसँगै राजस्थान रोयल्स ७ खेलमा ४ मा हार र ३ मा जितसहित ६ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ। सनराइजर्स हैदराबाद ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।