काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालमा नवनिर्मित भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन्।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्यसचिव शंकरदास वैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका हुन्।
काठमाडौं उपत्यकामा कोरोनाका बिरामी बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सीसीएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ।
उपप्रधानमन्त्री पोखरेलले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोनाका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिएका थिए। उनले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशनसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।