काठमाडाैं- नेपालमा कोरोना भाइरसको दैनिक संक्रमणदर आइतबार हालसम्मकै उच्च कायम भएको छ। गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा पीसीआर परीक्षण गरिएकामध्ये ४४.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। यो दैनिक संक्रमणदर हालसम्मकै उच्च हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १६ हजार १४७ जनाको पीसीआर परीक्षण भएको थियो। उक्त परीक्षणबाट सात हजार १३७ जनाको नतिजा 'पोजिटिभ' देखिएको छ।
यससँगै कोरोनाको पहिलो लहरमा एकै दिन सबैभन्दा धेरै संक्रमित भएर बनेको रेकर्डसमेत आज तोडिएको छ। गत वर्ष कात्तिक ५ गते पाँच हजार ७४३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक छ। आज एकै दिन पुष्टि भएका संक्रमितको संख्या त्योभन्दा एक हजार ३९४ बढी हो।
वैशाख महिनाको औसत संक्रमणदर २९.९५ प्रतिशत
यो महिना (वैशाख) मा दैनिक औसत २९.९५ प्रतिशतका दरले कोरोना संक्रमित थपिएका छन्। वैशाख १ देखि १९ गतेसम्मको अवधिमा मात्रै ५५ हजार ४६ जना संक्रमित थपिएको तथ्यांक छ। यो पीसीआर परीक्षणबाट पुष्टि भएका संक्रमितको संख्या मात्र हो। उक्त अवधिमा देशभर एक लाख ८३ हजार ७९१ जनाको पीसीआर परीक्षण गरिएको थियो।
वैशाख महिना लागेसँगै संक्रमितको संख्या दैनिक बढ्दै आएको छ। वैशाख ४ गतेसम्म दैनिक एक हजारभन्दा कम संख्यामा संक्रमित पहिचान हुँदै आएकामा ५ वैशाखयता दैनिक एक हजारभन्दा बढी हुँदै हाल सात हजार नाघेको छ।
सरकारले संक्रमणको 'चेन ब्रेक' गर्न भन्दै काठमाडाैं उपत्यकासहित देशभरका २९ जिल्लामा निषेधाज्ञा जारी गरिसकेको छ। संक्रमण फैलिँदै जाँदा निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या पनि थपिने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।