काठमाडाैं- सरकारले निषेधाज्ञा जारी भएका काठमाडाैं उपत्यका र ठूला सहरहरुमा बैंक तथा वित्तीय संस्थाका एक चाैथाइ शाखा मात्र सञ्चालन गर्न दिने भएको छ। ती शाखामा कर्मचारीसमेत एक चाैथाइ राखेर सञ्चालन गर्नुपर्नेछ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसका लागि सहजीकरण गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिइएको छ।
'निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला ;हरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने,' सीसीएमसीको निर्णयमा उल्लेख छ।
यसअघि निषेधाज्ञामा पनि बैंक तथा वित्ती संस्थाका सबै शाखा खुल्न दिइएको थियो।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा भोलिबाट थप कडाइ गर्न लागिएको हो। काठमाडाैं उपत्यकासहित संक्रमित धेरै भएका जिल्लाहरुमा गत बिहीबारबाट निषेधाज्ञा जारी छ। आइतबारबाट थप आठ जिल्लासहित देशभरका २९ जिल्लामा निषेधाज्ञा जारी हुने गृह मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।