काभ्रेपलाञ्चाेक- कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै काभ्रेपलाञ्चाेकका केही क्षेत्रमा निषेधाज्ञाकाे आदेश जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेले शनिबार सूचना जारी गरी वैशाख १९ गते अर्थात् आइतबार राति १२ बजेदेखि वैशाख २६ गतेसम्म लागू हुने गरी काभ्रेका बजार क्षेत्र र राजमार्गमा निषेधाज्ञाकाे आदेश जारी गरेकाे हाे।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार अरनिको राजमार्गको साँगादेखि बनेपाबमार-धुलिखेल सदरमुकाम- पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँ-बायाँ ५०० मिटरसँग निषेधाज्ञा जारी गरिएकाे छ।
यस्तै, बनेपा तीनदोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँ-बायाँ ५०० मिटर र बनेपा-पनौती-खोपासी सडकको ५०० मिटर दायाँ-बायाँ क्षेत्रमा निषेधाज्ञा जारी हुने छ।
वि.पी. राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ्ग-भकुण्डे हुँदै मंगलटार सम्म सडकको दायाँ-बायाँ २०० मिटर सम्मको क्षेत्र र पाँचखाल नगरपालिकाको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको दायाँ-बायाँ २०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएकाे छ।
निषेधाज्ञा जारी भएकाे क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको प्रशासनले जनाएको छ।
त्यस्तै, निषेधाषाको अवधिमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोक लगाएको जारी सूचनामा उल्लेख गरिएको छ।
निषेधाज्ञाकाे आदेश पालना नगर्ने वा यो काम गर्न बाधा पुयाउने जो कोहीलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सजाय हुने सूचनामा उल्लेख छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।