काठमाडाैं- नेपाल चिकित्सक संघले जनताको स्वास्थ्यको जिम्मेवारी सरकारको नै भएको हुँदा काेराेना महामारीमा आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएकाे छ।
संघका अध्यक्ष लोचन कार्की र महासचिव बद्री रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएकाे हाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्नेगरी बढेको भन्दै सरकारले अब अस्पतालहरुमा बेड उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको थियाे।
‘सर्वसाधारणका नाममा सरकारले गरेको अपीलमा स्वास्थ्य प्रणालिले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न, अस्पताल शय्य उपलब्ध गराउन नसकिने भैसकेको छ भनि सूचना प्रेषित गरेकोमा संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएकाे छ,‘नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा कोभिडको महामारीमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय आफ्नो दायित्वबाट पन्छिन नमिल्ने संघको ठहर छ।’
यस्तै फ्रन्ट लाइमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई काेराेना संक्रमण भइरहेकाे भन्दै विषेश ध्यान दिनसमेत संघले आग्रह गरेकाे छ।
‘संक्रमितहरुको उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयम् नै संक्रमित हुँदै गइरहेको अवस्था सर्वविदितै छ। उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्य सम्म उपचार दिन सक्ने वातावरण तथा जनशक्तिको उचित व्यवस्थापन गर्न नेपाल चिकित्सक संघ, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ।
संघले यस महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झैँ आवश्यक सहयोग र सहकार्य गर्न आफूहरु तयार रहेको पनि स्पष्ट पारेको छ।
‘नेपाल चिकित्सक संघ यस महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक सहयोग र सहकार्य गर्न सँधै तत्पर रहेको व्यहोरा समेत जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।