काठमाडौं- कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि नेपाल क्रिकेट संघ (क्यान)ले अनिश्चितकालका लागि क्रिकेट गतिविधि बन्द गरेको छ।
क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको वर्तमान अवस्थामा सुधार नआएसम्म र अर्को सूचना जारी नभएसम्म संघबाट प्रस्ताव राष्ट्रिय प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको हो।
‘संघबाट प्रस्तावित राष्ट्रिय प्रतियोगिताहरू लगायत जिल्ला छनोट एवम् प्रादेशिक प्रतियोगिता तथा विभिन्न राष्ट्रहरूसँग हुने भनिएका द्विपक्षीय एवम् त्रिपक्षीय सिरिजहरू तत्कालका लागि स्थगित गरिएको ब्यहोरा जानकारी गराउँदै सोही अनुसार जिल्ला एवम् प्रादेशिक संघहरुले क्रिकेट खेलका सम्पूर्ण गतिविधिहरू संघबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।
यसअघि नै सरकारले समूहमा खेलिने खेलहरू सञ्चालनमा रोक लगाएको थियो। क्यानले गत साता अघि आयोजना गरेको त्रिकोणात्मक टी२० दर्शकलाई प्रवेश दिइएको थिइएन।
यता, आईसीसीको प्रावधान अनुसार विभिन्न क्लब, एकेडेमी एवम् संघसंस्थाहरुबाट आयोजना गरिने क्रिकेट प्रतियोगिताहरूको कार्यविधि निर्माण गर्न लागिएको क्यानले जनाएको छ।
कार्यविधि निर्माण भएर लागु नभएसम्म अन्य क्लब, एकेडेमी एवम् संघसंस्थाहरुले आयोजना गर्ने प्रतियोगिताहरूमा जिल्ला एवम् प्रादेशिक क्रिकेट संघहरुले स्वामित्व एवम् आबद्धता नजनाउन क्यानले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।