काठमाडाैं- सरकारले काेराेना संक्रमण नेपालमा निकै उच्च गतिमा फैलिरहेको बताउँदै २२ जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उपत्यका तीनसहित अन्य १९ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भइसकेकाे जानकारी दिएकाे हाे।
‘काेराेना संक्रमणका हिसाबले नेपालका अति प्रभावित जिल्लाहरू (मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर) मा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको छ। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले हेरचाह गर्न अस्पताल श्यय उपलब्ध गराउन नसकिने अवस्था छ,’ विज्ञप्तिमा भनिएकाे छ।
मन्त्रालयले संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू अपनाउन आग्रह गरिएको छ। यस्तै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगर्न/ नगराउन पनि अपील गरिएको छ।
‘कुनै पनि सार्वजनिक स्थलहरुमा जाने भीडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी छ। जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशील भई कडा रुपमा पालना गर्नु गराउनु पर्नेछ,’ अपीलमा भनिएको छ, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन अनुरोध छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।