काठमाडाैं–माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ परीक्षण शुरु भमएको छ। ४५६ मेगावाट क्षमताको आयोजनाको मुख्य सुरुङमा बिहीबारदेखि पानी भरेर परीक्षण थालिएको हो।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार १० देखि १२ दिनसम्म सुरुङमा पानी हालेर परीक्षण गरिन्छ । त्यसपछि विद्युत्गृह र अन्य उपकरणको परीक्षण गरिने उनको भनाइ छ। ‘हामी विद्युत् उत्पादनको चरणमा प्रवेश गरेका छौं। यो आफैंमा खुशीको विषय हो,’ उनले भने, ‘नेपालीले लामो समयदेखि देखेको एउटा सपना पूरा हुने चरणमा पुगेको छ।’
सुरुङमा पानी भर्ने कार्यको थालनी नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पार्वत गुरुङले गरेका थिए। ‘नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा यो सबैभन्दा खुशीको क्षण हो,’ उनले भने, ‘केही दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले यो आयोजनाबाट उत्पादन हुने विद्युत्को औपचारिक रूपमा उद्घाटन गर्नुहुनेछ।’
स्वदेशी लगानीमा निर्माण भएको आयोजना आफैँमा नेपालीका लागि गौरवको आयोजनासमेत हो। आयोजनाका अनुसार थोरै परिमाणमा पानी पठाई मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भरिनेछ।
यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरूमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत्गृहमा जडान गरिएका ६र६ वटा टर्वाइन र जेनेरेटरहरूको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ। यस क्रममा पहिलो युनिटबाट वैशाख महिनाभित्रै विद्युत् उत्पादन शुरु हुने आयोजनाको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।