काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ।
भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ। पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो।
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ८६ हजार ८२९ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन भारतमा ३ लाख ७९ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ८७ लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा ३५ सय १ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख ८ हजार ३१३ पुगेको छ। संक्रमितमध्ये एक करोड ५३ लाखभन्दा बढी निको भइसकेका छन् करिब ३२ लाख सक्रिय संक्रमित रहेका छन्।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३० लाख ४२ हजार ११७ संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ५७ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ८४४ जनाको मृत्यु भएको छ।
तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ४५ लाखभन्दा बढी संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ६९ हजारभन्दा बढी संक्रमित थपिँदा ३ हजारभन्दा बढीको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।