प्रतिकात्मक तस्वीर
काठमाडौं– कोरोना भाइरसका संक्रमति बढेपछि काभ्रे जिल्लाको पनौती नगरपालिकाअन्तर्गत वडा नम्बर १० का केही क्षेत्र सिल गरिएको छ।
कोरोना भाइरसको संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि पनौती–१० का केही क्षेत्र सिल गरिएको हो।
कन्ट्याक्ट ट्रेसिङ नसकिए सम्मका लागि वडा नम्बर १० को पूर्व पावर हाउसको पूल, पश्चिम किटनी फटकेश्वर रोशीखोला पुल, उत्तर कृषि सेवा केन्द्रसँगैको गोगुनाल खोल्सा र दक्षिण कपुरपानीडोल भित्रको चारकिल्ला क्षेत्र सिल गरिएको पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले जनाएका छन्।
वडा नम्बर १० मा यसअघि संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएका ४३ जनाको स्वाब संकलन गरिएको थियो। स्वाब परीक्षणका क्रममा २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि चारकिल्ला सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्न थालिएको हो।
सिल गरिएका क्षेत्रमा अनावश्यक हिँडडुलसहित अत्यावश्यक बाहेकका अन्य गतिविधि गर्न रोक लगाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।